भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आजबाट नेपाल भ्रमणमा आउँदै छन् ।
नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् ।
नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
भारतीय सञ्चार माध्यममा उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि लिन पाउँदा आफूले सम्मानित मशूस गरिरहेको उनको भनाइ छ ।
यता, काठमाडौंमा भने नरावणेको भ्रमणलाई हेरेर सुरक्षा प्रबन्ध कडा बनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरीले सतर्कता अपनाएको छ ।
नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी रहेको छ ।
तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका नरावणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् । उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।
उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता हुनेछ । दुई देशबीच सम्बन्ध तीक्त रहेका बेला यस भमणले दुई देशका अधिकारीबीच संवादको ढोका खोल्ने अनुमान गरिएको छ ।