प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई दिएका छन् ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ओलीले ट्वीटरमार्फत बधाई दिएका हुन् ।
ओलीले बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् । दुई देशको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग काम गर्ने उनको भनाइ छ ।
राष्ट्रपति निर्वाचित बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई ट्वीटरमा मेन्सन गर्दै ओलीले यो विजय ऐतिहासिक र शानदार भएको बताएका छन् ।
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020
डेमोक्र्याट नेता जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका हुन्। ७८ वर्षका जो बाइडेन डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए । उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् ।
अमेरिकामा ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले २७९ इलेक्टोरल भोट ल्याएका छन् । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको २१४ इलेक्टोरल भोट छ ।
अमेरिकामा राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोटको आवश्यकता पर्छ ।
डेमोक्रेटिक पार्टीबाट बाराक ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए । बाइडेनले ट्रम्पलाई पराजित गर्दै राष्ट्रपतिमा बाजी मारेका हुन् । यो नतिजालाई ट्रम्पले भने स्वीकार गरेका छैनन् ।
त्यसैगरी विश्वकै शक्ति राष्ट्र दाबी गरिरहेको अमेरिकामा कमला उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी पहिलो महिला उपराष्ट्रपति, पहिले अश्वेत राष्ट्रपति मात्र होइन पहिलो दक्षिण एशियाली मूलकी उपराष्ट्रपति हुन्।