logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतद्वारा नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण


अंकुरण खबर
1.17K
Shares

भारत सरकारले नेपाललाई भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतबार भेन्टिलेटर हस्तान्तरण गरे।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यता रहेको बताए।

भारतीय सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उनले बताए। कोभिड संक्रणको सुरू भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलिका दिनमा पनि सहयोग जारी रहने उनले बताए।

स्वास्थ्यमन्त्री ढकालले आफू अफ्ठ्यारोमा भए पनि विगतदेखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरे। मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेटर उपयुक्त ठाउँमा पठाउने बताए। संक्रमणदर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले बढी सक्रिय संक्रमित र गम्भीर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाइने उनले बताए।

अहिले नेपाल-भारतलगायत विश्वभरि नै कोरोना महामारीको संक्रमण बढ्दो छ। नेपालमा दैनिक सयौं जनालाई संक्रमण भइरहेको छ। अहिलेसम्मको तथ्याङ्क अनुसार १ लाख ९१ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार आजसम्म १ हजार ८७ जनाको कोरोनाबाट मृत्यु भएको छ भने १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।