मोरङका कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धासहित तीन जनाको मृत्यु भएको छ।
दुई जनाको सोमबार बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ।
कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो। अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उपचारकै क्रममा सोमबार बिहान ६ बजेतिर वृद्धाको मृत्यु भएको हो।
झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बिहान ७ बजेतिर मृत्यु भएको छ । अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो।
त्यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो।
उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको हो । उनमा श्वासप्रश्वास, ज्वरो, निमोनिया, मधुमेह, उच्च रक्तचाप लगायतको समस्या रहेको अस्पतालहरुले जनाएका छन्।