सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलसँग छलफल गर्ने भएका छन् ।
कार्यदलसँग छलफल गर्न अध्यक्ष ओलीले सोमवार दिउँसो १२ बजे सदस्यहरुलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।
पछिल्लो समय नेकपा अध्यक्षद्वयबीचको टकरावका कारण पार्टीभित्रको विवाद एकाएक चुलिएको छ । विवाद समाधानको प्रयास खोजिए पनि कुनै किसिमको निष्कर्ष निस्किएको छैन् ।
विवाद उत्कर्षमा पुगेका बेला पूर्व एमाले र माओवादी खेमाका नेताहरुको गुटगत भेलाहरु बढि हुन थालेका छन् । यसै क्रममा अध्यक्ष ओलीले विवाद समाधान गर्न भदौमा गठन गरिएको ६ सदस्यीय कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएका हुन् ।
यसअघि आइतवार ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतका नेताहरुसँग भेटघाट गरेका थिए ।
पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्षद्वयबीचको विवाद समाधानका लागि गत भदौ ३० गते ६ सदस्यीय कार्यदल गठन भएको थियो ।