परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयोग मातहतको महिलाविरुद्ध हुने भेदभाव उन्मूलनसम्बन्धी समिति (सीड) सदस्यमा पुनः निर्वाचित भएकी बन्दना राणालाई बधाई तथा शुभकामना दिएका छन्।
“सीड समितिको सदस्यमा आफ्नो पुरानो मतको रेकर्ड तोड्दै १३७ मत प्राप्त गरी पुनः निर्वाचित भएकोमा बन्दना राणालाई बधाई,” ज्ञवालीले ट्वीटरमार्फत् भनेका छन्, “आशा छ, तपाईंको पुनः विजय महिला सशक्तीकरण र न्यायका लागि महत्त्वपूर्ण हुनेछ।”
सोमबार अमेरिकाको न्यूयोर्कमा भएको निर्वाचनमा १३७ मत प्राप्त गरी राणा दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन्।
सीड सदस्यको लागि भएको निर्वाचनमा १९ देशका उम्मेदवार उठेका थिए । मतदानमा राणाले तेस्रो बढी मत ल्याई सन् २०२१ देखि २०२४ सम्मको लागि सीडका ११ सदस्यमा निर्वाचित भएकी हुन्।
सीड संयुक्त राष्ट्रसंघको मानअधिकारसम्बन्धी उच्च आयोगअन्तर्गत रहेको समिति हो। यो समिति राष्ट्रसंघको साधारण सभाले सन् १९७९ मा स्थापना गरेको थियो भने कार्यन्वयनमा १९८१ बाट आएको हो।
सीडमा अहिले विश्वका १८९ देश सदस्य छन्। सीडमा २३ देशका स्वतन्त्र विज्ञहरू सदस्य रहन्छन्।
नेपाल सन् १९९१ देखि सीडको सदस्य भएको हो।