सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक आज पनि बस्ने भएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आज दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बराहीमा छलफलका लागि समय तय भएको हो ।
ओली इतरसमूहको बहुमत सचिवालय सदस्यहरुको छलफलमा ओलीले बैठक नबोलाएपछि कार्यकारी अध्यक्षको समूहले आज ४ बजेका लागि बैठक बोलाएको हो ।
तर ओलीको सहमतिबिनै बैठक बोलाउने कुरामा भने नेताहरु अँझै अनिर्णित बनेका छन् ।
ओलीले दाहालसँग यसअघि भएको वार्तामा आफ्नो सहमतिबिना बैठक बोलाइए फुटको बिन्दु त्यही हुने चेतावनी दिएपछि अध्यक्ष दाहालले भने आफ्नो समूहका नेताहरुको बैठक लगातार राख्दै आएका छन् ।
यसअघि पार्टीभित्र पेचिलो बन्दै गएको विवादबीच नेकपाका महासचिव विष्णु पौडेललाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सोमबार खुमलटार पठाएका थिए।
पाँच सदस्यले पठाएको पत्रमा तोक लगाएर अध्यक्ष ओलीले विधानअनुसार गर्नू भन्ने सन्देश महासचिव पौडेलमार्फत् दाहाललाई पु¥याइएको थियो ।
तर, महासचिव पौडेलले कुनै ‘मूर्त सन्देश’ नल्याएको भन्दै दाहालले बैठकभन्दा पनि सहमति खोजेको बताइएको छ ।