logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो १८ घण्टा मोरङमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु


अंकुरण खबर
780
Shares

मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ। मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन्। विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार पाँच जना कोरोना संक्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुई, न्यूरो कोभिड अस्पतालमा एक र होम आइसोलेसनमा दुई जनाको मृत्यु भएको हो।

नोबेल शिक्षण अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ। मृतकलाई कोरोना पुष्टि भएपछि कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। सोही अस्पतालमा झापा गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृतकको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो।

यस्तै झापाको हल्दिबारी–४ का ७० वर्षीय संक्रमित पुरुषलाई यही कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएकामा मंगलबार मृत्यु भएको छ भने उदयपुरको त्रियुगा–३ का २१ वर्षीय संक्रमित युवाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको छ। मृतक युवालाई कोरोना पोजिटिभ आएपछि कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएका  प्रबन्धक दाहालले बताए।

नोबेलमा मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ। मृतकलाई कात्तिक २२ गते उपचारका लागि अस्पताल भर्ना गरिएका थियो। विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरी इटहरी–५ का ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।  मृतकलाई कात्तिक १३ गते पोजिटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै, सोही केन्द्रमा विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि उपचारका लागि भर्ना गरिएकामा मृत्यु  भएको छ। मृतकलाई कोरोना पुष्टि भएपछि कात्तिक २२ गते केन्द्रमा भर्ना गरिएको थियो। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ। मृतकलाईको कात्तिक २४ पोजिटिभ देखिएको र होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ।

विराटनगर–३ का ८९ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा सोमबार राति मृत्यु भएको छ। कोरोना सङ्क्रमणपछि मृतक होम आइसोलेसनमा बसेका परिवारले जनाएको छ। न्यूरो कोभिड अस्पताल विराटनगरमा मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ।

मृतकलाई कात्तिक २१ उपचारका लागि भर्ना गरेको दिन पोजिटिभ देखिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए। उनीहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गौला र मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो। रासस