नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर धुम्बाराही पुगेका छन् । दुईजना अध्यक्षबीच के कुराकानी भयो भनेर खुल्न नसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
धुम्बाराहीमा बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रचण्ड समूहले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसमक्ष सचिवालय बैठक बोलाउन माग गरिरहेका छन् । भने ओलीले एजेण्डाबिना सचिवालय बैठक नबोलाउने अडान राख्दै आएका थिए ।
यद्यपी मंगलवार सचिवालय बैठक बोलाउन सकारात्मक देखिएको र त्यसको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको बुझिएको छ ।
यसअघि प्रचण्ड समूहले शनिवार ओलीसँग भेटघाट गरि सचिवालय बैठक बोलाउन माग गर्दै पत्र बुझाएका थिए । अध्यक्ष ओलीले नेकपा विवाद समाधान समितिका सदस्यहरुसँग सोमवार भेटघाट गरि महासचिव पौडेललाई प्रचण्डसँग भेट्न पठाए । यद्यपी प्रचण्डले सहमती खोज्नका लागि सचिवालय बैठकको माग राखेको बताएका थिए ।
त्यस्तै आज पनि नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डसँग भेटघाट गरि समस्या समाधानको प्रयासबारे छलफल गरेका थिए ।