नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।
बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको हो। दुई अध्यक्षको सहमतिमा बस्न लागेको बैठकका लागि नेताहरुले आ-आफ्नै रणनीति बनाएका छन्।
आज बस्ने बैठकको रणनीति बनाउन बहुमत सचिवालय सदस्य बिहीवार साँझ पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। उता, ओलीले पनि आफू निकट सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेलसँग छलफल गरेका थिए।
प्रचण्डसहितका बहुमत सदस्य गत शनिवार बुझाएको लिखित पत्रमा उल्लेखित एजेण्डा उठाउने तयारी छ। प्रण्डसहितका बहुमत सदस्यले शनिवार सरकार र पार्टीका समस्याहरुसहित बैठकको माग गर्दै लिखित पत्र बुझाएको थियो।
त्यस्तै केन्द्रीय कमिटी बैठक अघि स्थायी कमिटी बैठक बस्नुपर्ने विषय उठाउने एक सदस्यले जानकारी दिए। उता, प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुले बुझाएको पत्रको जवाफ फर्काएका छन्। ओलीले बहुमत सचिवालय सदस्यहरुको जवाफमा पत्र नै पठाएर जवाफ दिएको स्रोतले जानकारी दियो। पत्रमा ओलीले खुमलटार र कोटेश्वरबाट गुट चलाइरहेको आरोप लगाएका छन्।
कार्तिक १५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गरी मंसिर १५ गतेका लागि बोलाइएको छ।