logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुला ठाउँमा खाना खान आउनेलाई काठमाण्डौ महानगरले काम दिने


अंकुरण खबर
1.573K
Shares

काठमाण्डौ महानगरपालिकाले खुला ठाउँमा खाना खान आउनेलाई काम दिने भएको छ ।

काम गर्न सक्नेहरुलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको दरले दिइने उनको भनाइ छ । तर, काम गर्न नसक्नेहरुका लागि भने व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

यसैबीच, महानगरपालिकाले आज खुला ठाउँमा खान खुवाउने अभियान्ताहरुलाई बोलाएको छ । तिहारअघि, तिहारपछि खुला ठाउँमा खाना नखुवाउने सहमति भए पनि सहमति कार्यन्वयन नभएकाले अब के गर्ने भन्नेबारे छलफल गर्न महानगरपालिकाले उनीहरुलाई बोलाएको महानगरपालिकाका प्रवक्ता डंगोलले बताए ।

तिहारअघि भएको छलफलमा तिहारपछि खुला ठाउँमा खाना खुवाउन रोकेर भाडामा ठाउँ लिएर खाना खुवाउने अभियान चलाउने सहमति भएको थियो । सहमतिअनुसार खाना खुवाउने ठाउँको भाडा महानगरपालिकाले व्यहोर्ने रहेको थियो ।

भाडाको ठाउँ खोजिरहेको र ठाउँ नपाउञ्जेल खुला ठाउँमै खाना खुवाउन आफूहरु बाध्य भएको अभियान्ताहरुले बताएका छन् ।

कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण रोजगारी गुमाएर खाना खान समस्या भएकाहरुका लागि खुलामञ्च लगायत ठाउँहरुमा खाना खुवाउने अभियान चलिरहेको छ ।