खुलामञ्चमा खुवाउँदै आएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने भएको छ।
काठमाडौं महानगरपालिकाले मंसिर २ गते मंगलबारदेखि खुलामञ्चमा खाना खुवाउने काम व्यवस्थित ठाउँमा गर्न आग्रह गरेको थियो । तर महानगरले ठाउँ व्यवस्था नगरिदिएपछि मंगलबार खुलामञ्चमै खाना खुवाइएको थियो।
बुधबारदेखि भने थापाथलीस्थित प्रसूति गृह पछाडिको चौरमा खुवाइएको हन्ड्रेडस् ग्रुपका संस्थापक बब्लु गुप्ता नेपालीले बताए। ‘प्रसूति गृह पछाडि एउटा चौर छ। टिनले बेरिएको एउटा ठाउँ छ’ , उनले भने, ‘हामीले त्यहीँ नै खाना खुवाउन थालेका छौं।‘
उनका अनुसार खुलामञ्चमा साढे दुई सय र पशुपतिमा दुई सय जतिलाई हाम्रो टिम नेपालले खाना खुवाउँदै आएको छ।
काठमाडौं महानगरपालिकाले यसअघि पार्टी प्यालेसमा खुवाउने व्यवस्था मिलाउने बताएको थियो। तर अहिले पार्टी प्यालेसमा नअट्ने, बजेट धेरै खर्च हुने भएपछि चौरमै खाना खुवाउन थालिएको गुप्ताले बताए।
गत चैत ११ गतेदेखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परेका व्यक्तिहरूलाई चैत १४ गतेदेखि हाम्रो टिम नेपालले खाना खुवाउँदै आएको छ।
महानगरपालिकाले अव्यवस्थित रूपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको थियो।