logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश -२ मा सामाजिक दूरी कायम गरेर छठपर्व मनाउन आग्रह


अंकुरण खबर
780
Shares

प्रदेश नं.२ का प्रमुख जिल्ला अधिकारीहरुले अनिवार्य रुपमा समाजिक दूरी कायम गरेर छठपर्व मनाउन आग्रह गरेका छन् ।

उनीहरुले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सकेसम्म घरमै र जलाशयमै जाने परे भीडभाड नगरि छठपर्व मनाउन सर्वसाधरणलाई अनुरोध गरेका हुन । व्रतालुलाई अनिवार्य रुपमा स्वास्थ्यलाई ख्याल राख्दै पर्व मनाउनुपर्नेमा जोड गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले छठ पर्व घरमै मनाउन आग्रह गरिएको बताए । ‘जनताले हाम्रो आग्रह मानिदिए धेरै राम्रो हुन्थ्यो’ उनले भने ‘कोरोनाले गर्दा यसवर्ष सावधानीपूर्वक छठ पर्व मनाउन आग्रह गरेका हौँ।’ जलाशयमा जानेहरूलाई पनि पानीमा नडुबिकन छठ मनाउन भट्टराईले आग्रह गरे।

बाराका प्रजिअ दीपकराज नेपालले सुरक्षा समितिको बैठक बसेर भीडभाड नगरिदिन आग्रह गरेका छन् । उनले भने, ‘संस्कृति मनाउन हामी रोक्दैनौँ, तर कोरोना सङ्क्रमणको अवस्थालाई ख्याल गर्न आग्रह गर्छु ।’

यस्तै रौतहटको चन्द्रनिगाहपुरमा रहेको चाँदी नदीको किनार, गौरको बरहबा तालसहितका जलाशयमा घाट बनाउन सुरु गरिएको छ भने वीरगञ्जको घडीअर्बालगायतका पोखरीमा पनि घाट तयार पार्ने काम प्रारम्भ गरिएको छ ।

पर्सामा भने यसपटक पण्डाल लगाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जलाशयमा बढीमा व्रतालु र एक जना सहयोगी मात्र जान आग्रह गरेको छ । पर्साका प्रजिअ अस्मान तामाङ भने, ‘व्रतालुबाहेक दर्शकलाई घाटसम्म नगइदिन आग्रह गरेका छौँ ।’

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल छठ पर्वको घाटसम्म व्रतालु र उनको साथमा एक जनालाई मात्रै जान आग्रह गरिएको बताए । उनले छठ पर्वलाई हेर्ने र भीडभाड भएको ठाउँमा स्वयंसेवक र प्रहरी परिचालन गर्ने जानकारी दिए ।

सिरहा जिल्लामा स्थानीय प्रशासनले घर घरमै धारा राखेर छठ पर्व मनाउन अनुरोध गरेको छ ।

मंगलबार माछा र कोदो नखाएका व्रतालुहरू आज एका बिहानै नुहाएर खाने विधि गर्दै छन् । त्यस्तै पर्व अन्तर्गत बिहिबार खरना विधि, शुक्रबार साँझको अर्घ र शनिबार बिहानको अर्घ दिएर पारायण मनाउँदै छन् ।