logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा सञ्चालित केही निजी अस्पताल र प्रयोगशालाले नक्कली पीसीआर रिपोर्ट बिक्री गरेको खुलासा


अंकुरण खबर
975
Shares

काठमाडौं उपत्यकामा सञ्चालित केही निजी प्रयोगशाला तथा अस्पतालहरुले हवाई यात्रामार्फत विदेश जाने यात्रुहरुलाई महङ्गो मूल्यमा ‘कोरोना नेगेटिभ’को रिपोर्ट ‘बेच्ने’ गरेको तथ्य खुलेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अनुसन्धानका क्रममा उपत्यकाका ४ वटा अस्पताल तथा प्रयोगशालाले नक्कली रिपोर्ट बनाएर बिक्री गर्ने गरेको खुलेको हो ।

मन्त्रालयका अनुसार ललितपुरको सानेपास्थित स्टार अस्पताल, काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल, काठमाडौंको कमलादी (पानीपोखरी) स्थित सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी एण्ड रिसर्च सेन्टर र लाजिम्पाटस्थित सूर्या हेल्थकेयरले कोरोना भाइरस संक्रमण नदेखिएको जनाएर नक्कली रिपोर्ट बिक्री गर्ने गरेको देखिएको हो ।

हवाई यात्रामार्फत विदेश जाने यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरिएको छ । जसअनुसार नेपालबाट विदेश जाने यात्रुले पीसीआर परीक्षण गरी कोरोना संक्रमण नदेखिएको (नेगेटिभ) रिपोर्ट बुझाउनुपर्ने हुन्छ ।

तर, नेपाल एयरलाइन्सको उडानमार्फत संयुक्त अरब ईमिरेट्स (युएई) र हङकङ पुगेका यात्रुमा कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा परीक्षण गरिएको रिपोर्ट नेगेटिभ देखाए पनि युएई र हङकङ पुगेका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले आन्तरिक अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा ह्याम्स, सीटी, सेन्ट्रल ल्याबरोटरी र सूर्या हेल्थ केयरले नक्कली रिपोर्ट बनाएर बेच्ने गरेको भेटिएको हो ।

पर्यटन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) छाउनीलाई पत्र लेखेर ती अस्पताल तथा प्रयोगशालाहलाई कारबाही गर्न भनेको छ ।

‘यी अस्पताल र ल्याबहरुले स्वाब संकलनपश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा उक्त नगरेको, स्वाब संकलनपश्चात् पनि रिपोर्ट मनिपलुसन गरी पोजेटिभ रिपोर्ट दिने गरेको, कोभिड पीसीआर परीक्षणमा थप विश्वसनीय बनाउन आवश्यक विषय छ,’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्रमा भनेको छ ।