नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वको अवसरमा एक विज्ञप्ति जारीगर्दै शुभकामना व्यक्त गरेका छन्।
उनले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “छठ पर्व” का रहको भन्दै शुभकामना व्यक्त गरेका हुन्।
उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ–’नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन् । यी चाड-पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।
नेपाललाई शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न आज हामी प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको छ । लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकोले लोकतन्त्रको सम्वद्र्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको छ । छठ जस्तो पवित्र धार्मिक पर्वले देश र जनता प्रतिको यो जिम्मेवारी वहन गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना छ ।’