बढ्दै गएको चिसोसँगै देशका अधिकांश स्थानको तापक्रम घट्दै गएको छ ।
काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम ६.५ डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि शुक्रबार यो वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम ५.५ डिग्री सेन्टिग्रेड थियो । विगतको वर्षको तुलानामा यस वर्ष चाँडैदेखि चिसो सुरु भएको र तापक्रम पनि घटेको महाशाखाले जनाएको छ ।
जोमसोमको न्यूनतम तापक्रम माइनस ५ डिग्री सेन्टिग्रेड पुगेको छ भने जुम्लाको तापक्रम माइनस ४.९ डिग्री सेन्टिग्रेडमा झरेको छ ।
महाशखाका अनुसार आजको मौसम दिउँसोबाट बद्लिने छ । अहिले बिहान काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि दिउँसो बदली हुने मौसमविद्हरुले बताएका छन् । पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै आज राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।