दाङका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् ।
उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते अस्पताल भर्ना भएका उनको शनिबार राति ११:५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो ।
यस्तै तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको आइतबार बिहान १:४० बजे मृत्यु भएको श्रेष्ठले बताए । उनमा मधुमेह र निमोनियाको समस्या थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २८ पुगेको छ ।