प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन् ।
उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम छ ।
प्रधानमन्त्रीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए ।
फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ । प्रधानमन्त्रीले घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रजिअ चापागाईंका अनुसार दुई घण्टा यहाँ बसेर प्रधानमन्त्री ओली इलामको जौबारी जानेछन् ।
ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई आउने कार्यक्रम रहेको प्रजिअ चापागाईंले जानकारी दिए ।
सदरमुकाम फुङलिङबाट तीन दिन पैदल दूरीमा पर्ने घुन्सामा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको टोली पुगिसकेको छ ।