सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला उत्तरी छिमेकी चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्।
स्रोतका अनुसार प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी हुन्। उनीहरूको भेटमा के(के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।
नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन्।
यसपालि पनि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन्।
प्रधानमन्त्री ओली र यान्छीबीच भेट भएको अर्को दिन बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले १० दिनको समय मागेपछि बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ।
अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनको जवाफ दिन ओलीले समय मागेका हुन्।
चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन्। स्रोतका अनुसार उनी मंसिर १४ गते काठमाडौं आउन लागेका छन्।