logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदै भारतीय विदेश सचिव


अंकुरण खबर
2.886K
Shares

सीमा विवादका कारण नेपाल र भारतबीच कायम रहेको औपचारिक संवादहीनतालाई अन्त्य गर्न भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगला बिहीबार नेपाल आउने भएका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि विदेश सचिव श्रृंगला बिहीबार काठमाडौं आइपुग्ने  भएका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा श्रृंगला नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको हो ।

भारतको विदेश मन्त्रालयले उक्त भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको अभ्यासको निरन्तरता भएको र यसले नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकता झल्काउने उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएअनुसार भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेश सचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने छन् ।

बिहीबार नै उनले अन्य उच्चस्तरीय भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड(१९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्ने छन् ।

भारतीय विदेशसचिव श्रृंगलाको भ्रमणलाई नेपाल(भारत सम्बन्ध सुधारको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

यसअघि भारतीय गुप्तचर प्रमुख सामन्त गोयल र भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए ।