महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाएको छ ।
गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । गोली लागेर बर्दिबास नगरपालिका १ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने, श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएका हुन् ।
संजयको तीघ्रमा गम्भीर चोट लागेको भने कार्कीको टाउको फुटेको जनाइएको छ । संजयलाई उपचारका स्थानीय पिनाकल अस्पतालमा लगिए पनि त्यहाँ उपचार संभव नभएपछि बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ ।
अहिले बर्दिबास चोकमा मृतक बालिकको शव राखेर प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकलमाथि तोडफोड समेत गरेका छन् ।
बिहानैदेखि बन्द भएको राजमार्ग भने प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । प्रदर्शनकारीले प्रहरी बिटमा पनि ढुंगामुणा प्रहार गरेका छन् । यसअघि भीड नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको थियो ।