सत्तारुढ नेकपाभित्रको पछिल्लो विवाद पार्टीको जिल्ला तहसम्म पुग्ने भएको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको राजनीतिक दस्तावेज, सचिवालयका सदस्यले बैठक राख्न बुझाएको पत्र साथै ओली र दाहालबीच आदानप्रदान भएका पत्रसमेत समावेश गरेर दाहाल-नेपाल समूहले तल्लो कमिटीसम्म पठाएपछि विवाद जिल्ला तहसम्म पुगेको हो।
‘पार्टीले औपचारिक रुपले पठाएको होइन, दस्तावेज र पत्रहरु प्रिन्ट गरेर अध्ययनका लागि साथीहरुले लग्नुभएको हो,’ दाहाल निकट एक नेताले भने।
२२ कात्तिकमा सचिवालयका बहुमत सदस्यहरुले बैठकको माग राखेर ओलीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले २५ गते लेखेको पत्र, २८ कात्तिकको सचिवालय बैठकमा दाहालले दिएको प्रत्युत्तर र उनको दस्तावेज समेटेर तल्लो तहसम्म पठाइएको छ।
दाहाल–नेपाल समूहले पार्टीभित्रको विवाद समाधान भन्दा पनि बल्झाउने गरेर दस्तावेज तल्लो तहसम्म पुर्याएको ओली पक्षको निष्कर्ष छ।
‘यसले राम्रो संकेत दिँदैन’, ओली निकट एक नेताले भने, ‘पार्टीभित्र छलफल भइरहेका बेला यस्ता गतिविधि हुनु किमार्थ राम्रो होइन।’
नेकपाभित्रको विवाद चर्किंदै जाँदा ३ मंसिरमा बसेको सचिवालयको बैठकमा ओलीले दाहालले पेस गरेको दस्तावेजको लिखित रुपमा नै जवाफ दिने गरेर प्रस्ताव ल्याउने बताएपछि नेकपाको बैठक १३ मंसिरसम्म स्थगित भएको छ।