नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) उत्साह छाएको छ ।
नेप्से आज ६४ दशमलव ७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेको हो । यस अघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
नेप्सेका अनुसार बुधबारको उच्च वृद्धिसँगै नेप्से कीर्तिमानी अङ्क नजिकै पुगेको छ । अहिलेसम्म नेप्सेको कीर्तिमान १८ सय ८१ अङ्कको रहेको छ । निर्जीवन बीमा समूहको ३ सय १६ अङ्कले, उत्पादन समूहको ३ सय अङ्कले, जीवन बीमा समूहको १ सय ९० अङ्कले, व्यापार समूहको १ सय ७९ अङ्कले, माइक्रो फाइनान्सको १ सय ६ र अन्य समूहको शेयर ९५ अङ्कले बढेको छ ।
बुधबार १ सय ९६ कम्पनीका पाँच अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ४२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ३६ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बुधबार शिवम् सिमेन्ट, विशाल बजार कम्पनी, पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, दूरसञ्चार कम्पनीलगायत १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार ६४ अङ्कले बढे पनि बुधबार नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै ६ प्रतिशत गुमाएका छन् ।