सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बामदेव गौतमले पार्टीको विधान बमोजिम बैठक बस्नुपर्ने र बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षको अधिकार नभएको बताएका छन् ।
आज विहान आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षलाई अधिकार नभएको बताएका हुन् ।
पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्ने उनको भनाइ छ ।
उनले महासचिव विष्णु पौडेलतर्फ लक्षित गर्दै बैठकको व्यवस्थापनसित सम्बन्धित विषयमा महासचिवले विवेक पुर्याउन नसक्दा समस्या पैदा भएको उल्लेख गरेका छन् । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने उनको भनाइ छ ।
उनले शनिबारको सचिवालय बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राखेको भन्दै दुबै अध्यक्षलाई धन्यवाद समेत दिएका छन् । उपाध्यक्ष गौतमले पार्टी बाहिर छरिएका हाम्रा विचारहरु पार्टीमा भित्रिएकाले अब चाहेमा समस्या समाधान गर्न सकिने पनि उल्लेख गरेका छन् ।