logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कक्षा १२ को परीक्षा निरीक्षण गर्न जाँदा शिक्षिकाको बाटोमै मृत्यु


अंकुरण खबर
897
Shares

देशभर जारी कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन परीक्षा केन्द्र जान लागेकी डोटीकी एक शिक्षिकाको मृत्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्नै लाग्दा एक्कासि बेहोस भएर उनी ढलेकी थिइन् ।

बेहोस भएर ढलेकी शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृतक शाहु २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत रहेकी थिईन् । उनका श्रीमान् र २ छोरी छन् ।