नेपालको भ्रमणमा आएका चीनको राज्यपरिषद् (स्टेट काउन्सिल) सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाले सम्मान गारद (गार्ड अफ अनर)प्रदान गरेको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले चिनियाँ स्टेट काउन्सलर तथा रक्षामन्त्री वेइ फेङ्हेलाई गार्ड अफ अनर प्रदान गरेको हो ।
नेपालको १ दिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ताको कार्यक्रम समेत छ । नेपालको भ्रमण सकेर आइतबार नै फर्किने वेइ फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका थिए ।
चिनियाँ विशिष्ट पाहुना वेइ फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।