logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

नेपालमा ३० जना एचआइभी संक्रमितलाई कोरोना


अंकुरण खबर
871
Shares

नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ।

३३औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा हालसम्म ३० जना एचआइभी संक्रमित कोरोनाबाट संक्रमित भएको जानकारी दिइएको हो। संक्रमित सबै जना हाल उपचारपछि निको भइसकेका छन्।

कोरोना महामारीका कारण उनीहरुको उपचार सेवामा कुनै प्रभाव नपरेको केन्द्रकी निर्देशक डा सुधा देवकोटाले बताइन्। लकडाउन तथा महामारीको समयमा पनि एचआइभी संक्रमितहरुले खाने औषधि एआरटी घर–घरमा पुर्‍याउने व्यवस्था गरिएको उनले जानकारी दिइन्।

नेपालमा हाल १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला गरी २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित रहेको केन्द्रको अनुमान छ।

नेपालमा करिब ८० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ।

सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभी संक्रमणको दर समूहभन्दा उच्च रहेको केन्द्रले जनाएको छ। २०७७ सालको असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय १० अर्थात् ६६ प्रतिशत मात्र एआरभी उपचारमा छन्।

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारा सहित मंगलबार विश्व एड्स दिवस मनाइँदैछ।