logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज ३३ औँ विश्व एड्स दिवस मनाइँदै : यस्तो छ नेपालमा संक्रमितको तथ्यांक


अंकुरण खबर
910
Shares

आज ३३ औँ विश्व एड्स दिवस । एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विश्वभर एड्स दिवस मनाइँदै छ ।

नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ।

विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले यो तथ्याङ्क सार्वजनिक गरेकी हुन्। ती मध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ।

यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेका छन्। यस्तै नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ। यस्तै एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशत भन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम भएको पनि निर्देशक डा. देवकोटाले बताइन्।

तथ्याङ्क अनुसार वि.सं. २०७७ असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन्। सन् २०१० को तुलनामा सन् २०१९ सम्मा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ।

यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताइन्। एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ। एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताइन्।