logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा प्रहरी हत्या प्रकरणमा संलग्न ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे


अंकुरण खबर
1.352K
Shares

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि गस्तीमा खटिएका कैलालीका २ जना प्रहरी कर्मचारीको हत्या प्रकरणमा ८ जना कारागार चलान भएका छन् ।

कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक (असई)गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या प्रकरणमा पक्राउ परेका ८ जना कारागार चलान भएका हुन् ।

जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि ८ जनालाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकाको जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज विक र सोही पोस्टमा कार्यरत प्रहरी जवान साउँदको तस्करहरुले हत्या गरेका थिए ।

गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला विक र साउँद बेपत्ता भएका थिए । बेपत्ता विकको कात्तिक २ गते र साउँदको २ दिनपछि नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा शव फेला परेको थियो ।

प्रहरीले हत्यामा संलग्न भएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय पर्कु भनिने रोहिन राना (क), रोहित राना (ख), ३० वर्षीय चोर भनिने सुरेश राना, २० वर्षीय राजेन्द्र राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना पक्राउ परेका थिए ।

प्रहरीले पक्राउ गरेका ८ जनालाई नै अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

प्रहरीको अनुसन्धानबाट मटर तस्करी गर्ने गिरोहको संलग्नतामा २ जना प्रहरी कर्मचारीको हत्या भएको खुलेको थियो । तेस्रो देशबाट नेपाल भित्र्याइने मटर (केराउ) नेपालका विभिन्न नाका हुँदै भन्सार छलेर भारत तस्करी गर्ने गिरोहले कैलालीमा २ जना सुरक्षाकर्मीको हत्या गरेको खुलेको थियो ।

प्रहरीले मटर तस्करीमा संलग्न रहेको आरोपमा धनगढीका १ जना व्यापारी राजीव गुप्तालाई पनि पक्राउ गरेको थियो । तर, जिल्ला अदालत कैलालीले मटर तस्करीको आरोपमा पक्राउ परेका व्यापारी गुप्तालाई १ लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।