logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कक्षा १२ को नतिजा महिना दिनभित्रै, त्रिविमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी


अंकुरण खबर
1.716K
Shares

कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्रै प्रकाशित हुने भएको छ ।

परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु भएको र महिना दिनभित्रै नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डकाअनुसार विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र नतिजा प्रकाशित हुनेछ ।

बोर्डले एक हप्ताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डले जनाएको छ ।

यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका छन्।

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना केही दिनभित्रै प्रकाशित हुने बोर्डले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा प्रत्यक्ष कक्षाको तयारी

त्रिभुवन विश्वविद्यालयले प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्म  प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिने परिषद्ले जनाएको छ ।

कोरोनाको कारण गएको चैतदेखि शैक्षिक संस्था बन्द छन् । अनलाइन कक्षा भइरहे पनि माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता कम छ ।

त्रिभुवन विश्वविद्यालयले आठ महिनाअघिदेखि रोकिएका परीक्षा पनि लिन थालेको छ । कोभिड महामारीकै बीच स्वास्थ्य सावधानी अपनाएर परीक्षा भइरहेको हो ।