फाइजर/बायोएनटेक कम्पनीले तयार गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई बेलायतले आम प्रयोगका लागि अनुमति दिएको छ ।
द टेलिग्राफका अनुसार अर्को सातादेखि बेलायतमा अब कोरोना भ्याक्सिन सबैलाई लगाइनेछ। बेलायतको स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागका प्रवक्ताले भने, ‘फाइजर/बायोएनटेकको कोरोना भ्याक्सिन आम प्रयोगका लागि अनुमति दिइएको छ। सरकारले तोकेका सुरक्षा, गुणस्तर र प्रभावकारितासम्बन्धी सम्पूर्ण मापदण्ड फाइजर भ्याक्सिनले पूरा गरेको छ।’
सुरुमा केयर होममा बस्ने वृद्धवृद्धा, स्वास्थ्यकर्मी तथा उच्च स्वास्थ्य जोखिममा रहेका व्यक्तिहरुलाई भ्याक्सिन लगाइने बताइएको छ। ‘अर्को सातादेखि बेलायतभर नै खोप उपलब्ध हुनेछ,’ विभागका प्रवक्ताले भने।
कोरोना भ्याक्सिन आम प्रयोगका लागि अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ। उसले फाइजरको भ्याक्सिन ४ करोड डोज अर्डर गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
हिजो मंगलबारमात्रै फाइजर बायोएनटेकले आफूले तयार पारेको कोरोना भ्याक्सिन युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा आवेदन दर्ता गरेको थियो। फाइजर भ्याक्सिन ९५ प्रतिशत सफल र प्रभावकारी भएको कम्पनीको दाबी छ।
कम्पनीले अमेरिकामा पनि भ्याक्सिन वितरण गर्ने गरी अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० समक्ष निवेदन दिएको छ।