logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ


अंकुरण खबर
4.225K
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । हाल तनहुँमा रहेका नेता पौडेले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

नेता पौडेलले ट्विटरमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको बताइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को आदेशमा कांग्रेस वरिष्ठ नेता पौडेल र तनहुँका काग्रेसका सभापति जीतप्रकाश आलेलाई पक्राउ गरिएको छ ।

व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो ।