आज (मंसिर २० गते शनिबार) देशका केही ठाउँमा हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राती प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।