logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च, ऋणीलाई हुँदैछ यस्तो फाइदा


अंकुरण खबर
793
Shares

कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ।

राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती हालसम्मकै सबैभन्दा बढी भएको जनाएको छ । वैदेशिक मुद्रा भण्डारण बढेको फाइदा यहाँका ऋणीले पाउने खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

हाल राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिती वृद्धि भएर कुल १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसलाई शुक्रबारका लागि निर्धारण भएको अमेरिकी डलरको भाउअनुसार हिसाब गर्दा करिब ११ अर्ब ७५ करोड हुन आउँछ । अब यसले आगामी १५ महिनाको आयात धान्ने राष्ट्र बैंकको दाबी छ।

विगतका वर्षमा राष्ट्र बैंकसँग यति धेरै विदेशी मुद्राको सञ्चिती थिएन । हाल विदेशबाट आउने विभिन्न वस्तुको आयात घटेर यहाँबाट पठाउने समानको निर्यात बढेकाले विदेशी मुद्राको सञ्चिती बढेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७–७८ का लागि जारी गरेको ‘मौद्रिक नीति’को समीक्षाले अब डलरमा ऋण लिएकालाई नेपाली रुपैयाँमा तिर्न पाउने सहुलियतपूर्ण व्यवस्था गरिदिएको छ।