भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापीय प्रणालीका कारण नेपालका अधिकांश भूभागको मौसम धुम्मिएको छ।
लुम्बिनी, गण्डकी, बाग्मती, प्रदेश २ अधिकांश भूभागमा कुहिरो लागेको छ भने प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा वर्षाको सम्भावना नरहे पनि अझै २ दिन राम्रोसँग घाम नलाग्ने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार भोलिको मौसम पनि आजको जस्तै हुनेछ ।
बिहीबार दिउँसोबाट मात्रै आकाशको कुहिरो हट्ने र पारिलो घाम लाग्ने सम्भावना रहेको उनले बताइन् । आकाश धुम्म हुँदा देशभरको अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अधिकतम तापक्रम घट्दा दिनभरिकै तापक्रम एकैनासको हुने भएकाले चिसो बढी हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
यसअघि अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियस हुन्थ्यो । यस्तै पोखराको अधिकतम तापक्रम २२ डिग्रीमा झरेको छ भने भैरहवाको २७, सिमराको २४, धरानको २४, विराटनगरको २५, धनकुटाको २० डिग्रीमा झरेको छ ।