प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठक तीन घण्टा चलेर सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखेका थिए । त्यसपछि अन्य दलका नेताहरुले आ–आफ्नो धारणा राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरु उपस्थित थिए । बैठकको शुरूमै सहभागीहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरुको रक्षा, संबिधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेको उनले जानकारी दिए ।
बैठकमा अहिले देशका विभिन्न ठाउँमा राजतन्त्रको बारेमा चर्किएको प्रदर्शनका बारेमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।