कोरोना संक्रमण त्रासको कारण गएको ७ चैतदेखि बन्द रहेको ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना आज (बिहीबार)देखि खुल्ने भएको छ ।
संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि चिडियाखाना खोल्न लागिएको हो । स्वास्थ्य सुरक्षाका सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिए ।
चिडियाखाना अवलोकन गर्दा विदेशीलाई ७५०, सार्क राष्ट्रका नागरिकका लागि ५००, नेपालीलाई १५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
चिडियाखाना अवलोकन गर्न जानेले अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने पोख्रेलको भनाई छ। एकपटकमा बढीमा ८ सय जनासम्मलाई प्रवेश दिइने र बढीमा डेढ घण्टासम्म मात्र भित्र रहन पाइने नियम बनाइएको छ ।
चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन । अब हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुला गरिने पोखरेलले बताए ।
भीडभाड हुन नदिन पहिलोपटक अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ। चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ ।