logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्यमन्त्रीलाई छलफलमा बोलाउँदै लेखा समिति


अंकुरण खबर
715
Shares

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा छलफल गर्न समितिले स्वास्थ्य मन्त्री ढकाललाई बोलाउन लागेको हो ।

समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरी ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो । तर, लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन । अवको बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी गरेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए ।

समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले जानकारी दिए । विशेषगरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने क्रममा भएका अनियमितताका कुरालाई लिएर उजुरी परेको छ । सडक निर्माण, विद्युत् प्राधिकरणमार्फत हुने ठेक्काको विषय लगायतका विषयमा उजुरी परेको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा उपसमितिले अध्ययन गरेको विषयमा समेत आगामी बैठकमा छलफल गर्ने तयारी गरिएको पनि पाण्डेले बताए ।