प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं सेनानी नेपाली कांग्रेसका पुराना नेता श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ ।
बिहीबार ब्रेन ह्यामरेज भएपछि ८० वर्षे श्रेष्ठलाई अस्पताल भर्ना गरिए पनि बचाउन नसकिएको हो । नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य श्रेष्ठ नेपालको प्रजातान्त्रिक आन्दोलनका साहसिक योद्धा मानिन्छन् ।
२०१४ सालदेखि कांग्रेसले आह्वान गरेको हरेक आन्दोलनमा अग्रमोर्चामा रहेर संघर्ष गर्ने श्रेष्ठ विभिन्न पटक गरी चौध वर्ष जेल जीवन बिताएका थिए । तर उनी सत्तालाभबाट भने टाढै रहे ।
२०१९ सालमा पञ्चायती व्यवस्था ध्वस्त पारेर दरबारमै बम पड्काउने योजनामा संलग्न रहेको आरोपमा उनलाई पञ्चायत व्यवस्थाले ११ वर्ष निरन्तर जेलमा हालेको थियो ।