Breaking Newsअन्तर्वार्ता

बाँझोपन र पिसिओडीबाट बच्न यस्ता सावधानी अप्नाऔं…

विज्ञान र प्रविधिको विकाससंगै नयाँ नयाँ रोगहरुको पनि उत्तपति भएको पाइन्छ । आधुनिकता र विलाशी जीवन शैली अप्नाउदा पछिल्ला समयमा जुनसुकै उमेरका व्यक्तिमा पनि रोग लाग्ने क्रम बढेको पाइन्छ । यस्तै समस्या मध्ये महिलाहरुमा महिनावारी गडबढी, पाठेघरको मुखको क्यान्सर र बाँझोपनको समस्या पनि अति बढेको देखिन्छ । विशेषतः बाँझोपनपन बढाउने एक कारण पोलिसिस्टिक ओभरिजलाई लिइन्छ । के हो यो पोलिसिस्टिक ओभरिज ? किन हुन्छ ? यसका लक्षण कस्ता हुन्छन् ? कसरी बच्ने ? अंकुरण खबरका लागि स्त्री, प्रसुती तथा बाँझोपन रोग बिशेषज्ञ डा.सम्पदा मिश्र (पाठक)संग गरिएको कुराकानी …

के हो,पोलिसिस्टिक ओभरिज ?
पछिल्लो समय धेरै महिलाहरुमा देखिएको पोलिसिस्टिक ओभरिज (पिसिओडी)को समस्या स्वास्थ्य सम्बन्धि एक प्रकारको गम्भीर समस्या हो । सामान्य भाषामा भन्दा विशेषतःप्रजनन उमेर समूहका महिलामा विविध कारणले ओभरी वरिपरि ससाना सिष्ट(पानीको फोको)देखिने गर्छ यसलाईनै पिसिओडी भनिन्छ । यसले महिनावारी गडबडी हुने, महिनावारीको बेला धेरै वा थोरै रगत जाने,पेट धेरै दुख्नेदेखि निसन्तानको समस्या समेत ल्याउँछ ।

पिसिओडी हुने कारण के के हुन ?
पिसिओडी यही मात्र कारणले हुन्छ भन्ने छैन् । अहिलेसम्म यसको वास्तविक एक मात्र कारण थाँहा भएको छैन् । तर पनि सेक्स हर्मोनको असन्तुलन वा उत्पादन बढी हुनु ,जंग फुडहरुको बढी प्रयोग गर्नु, अस्वस्थ र असन्तुलित आहार सेवन गर्दा यस्तो समस्या आउँन सक्छ । त्यस्तै मधुमेह,उच्च रक्तचाप, बढी तौल, निस्क्रिय जीवन शैली अप्नाउदा पनि यस्तो समस्या हँुन सक्छ । कोलेस्टोल बढी भएमा पनि यस्तो समस्या आउन सक्छ । वंशाणुगत गुण, सरसफाईको कमी, अन्य कुनै रोगका कारण पनि पिसिओडी हुन सक्छ ।

पिसिओडी भएको कसरी थाँहा पाउने ?
यसका लक्षणहरु सबैमा एकै प्रकारको देखापर्छ भन्ने छैन् । व्यक्तिको शारीरिक अवस्था, उमेर आदिले फरक फरक लक्षण देखापर्न सक्छ । कोही महिलामा लक्षण नै नदेखिए पनि यो समस्या हुन सक्छ । तर अधिकांशमा निम्न लक्षण देखापर्छ  :

महिनावारी अनियमित हुनु ।
महिनावारीका बेला रक्तश्राव बढी या कम हुने ।
चाहेको बेला गर्भ नबस्ने ।
गर्भ पटक पटक खेर जाने ।
तौल बढ्नु ।
तल्लो पेट दुख्नु,पोल्नु ।
शरीरमा अनाआवश्यक रौंहरु आउनु ।
डन्डिफोर आउनु ।
छालामा कालो खैरो दागहरु देखिनु ।
स्तन साह्रो हुनु । शरीर गल्नु वा थकित हुनु आदि।

पिसिओडीले कसरी बाँझोपन बनाउछ ?
पेलिसिस्टिक ओभरिज हुने सबैमा सन्तान हुदैन भने चै होइन । कोही महिलामा यो समस्या हुँदा हुदै पनि महिनावारी नियमित हुने र गर्भ रहने हुन्छ । तर कमै मात्रमा यस्तो हुन्छ । उसले आवश्यक बेलामा अण्डासयमा सन्तुलित अण्डा उत्पादन गर्दैन । यस्तो समस्या भएको लामो समय भयो भने सिस्टहरु कडा भएर माला जसरी जम्मा हुन्छ । जसका कारण गर्भ रहदैन् । केही गरि गर्भ रहिहाले पनि खेर जाने संभावना बढी हुन्छ ।

पिसिओडीबाट कसरी बच्ने ?
यो समस्या देखिसके पछि पूर्ण निको हुदैन् । यद्यपी यसलाई रोकथाम गर्न र यसका कारण हुने जटिलताबाट बच्न भने सिकन्छ । यसको लागि जतिसक्दो छिटो उपचार गराउनु पर्छ । जति ढिला भयो यसले क्यान्सर समेत गराउन सक्छ । यसबाट बच्न विशेषत :
महिनावारीमा अस्वभाविक वा गडवडी भए तुरुन्त स्वास्थ्य परीक्षण गराउने ।
वंशाणुगत समस्या भए कुनै पनि लक्षण नदेखिए पनि एक पटक पिसिओडी परीक्षण गराएको राम्रो ।
चाहेको बेला गर्भ नरहे स्वास्थ परीक्षण गराउने ।
स्वस्थ र सन्तुलित आहारको सेवन गर्ने ।
तौल नियन्त्रणमा राख्ने ।
मधुमेह, रक्तचाप सन्तुलनमा राख्ने ।
नियमित व्यायम गर्ने ।
सरसफाईमा ध्यान दिने ।
सक्रिय जीवन शैली अवलम्वन गर्ने ।

Comment here