बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी सरकारले फेरी अध्यादेश ल्याएको छ ।
सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् ।
नेकपा भित्रको विवाद बढ्दै गएको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । यस अघि २८ गते पनि सभामुख र कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुँदा बैठक स्थगन भएको थियो ।
पटक पटक बैठक स्थगित हुँदा काम कारबाही प्रभावित हुने भन्दै राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरिएको उल्लेख गरेको छ ।