कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् ।
बुधबार काठमाडौं महानगरपालिका शिक्षा विभागले प्रमुख जिल्ला अधिकारी,शिक्षा क्षेत्रका पदाधिकारी, जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, सुरक्षा निकाय प्रमुखहरु लगाएत सरोकारवाला निकायसंगको छलफलपछि तत्काल जोखिम नघटेकाले अहिलेनै विद्यालय खोल्न हतार गर्न नहुने निचोड निकालिएको हो ।
छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसममा अन्य फ्ल्यूहरुको संक्रमण पनि बढी हुने भएकाले यस्तो बेलामा अनलाइन कक्षाहरुलाई नै प्रभावकारी बनाउनु पर्ने बताए ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करिब ५० हजारको एन्टिजेन टेष्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाव दिए । सबैको भनाई र सुझाब पछि परिस्थिति अलि सामान्य नभएसम्म विद्यालय खोल्नु नहुने निष्कर्षमा महानगर पुगेको छ।