logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा प्रचण्ड-नेपाल समूहले बुझायो पत्र


अंकुरण खबर
1.417K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको र नेपाललाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

बुधबार प्रचण्ड–नेपाल समूहका नेताहरु लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहित निर्वाचन आयोग पुगेर ओलीलाई अध्यक्षबाट हटाएको र नेपाललाई अध्यक्षमा चयन गरेको बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र आयोगमा दर्ता गराएको हुन् ।

निर्वाचन आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको नेता पोख्रेलले जानकारी दिए । ‘निर्वाचन आयोगमा बुझाइएको पत्रमा २८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर छ । केही साथीहरुले कारणबश उपस्थित हुन नसकेको र आफ्नो समर्थन रहेको बताउनु भएको छ,’ उनले भने ।

यसअघि मंगलबार नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ४४७ सदस्यीयबाट विस्तार गरेर ११९९ सदस्यीय बनाएको भनेर निर्वाचन आयोगमा जानकारी गराइसकेको छ । ओली समूहले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका गरेको थियो ।

ओली र प्रचण्ड-नेपाल समूहले आधिकारिक नेकपा आफ्नो समूह रहेको दाबीसहित निर्वाचन आयोगमा पत्र दर्ता गरेपछि अब नेकपाको कुन समूहले वैधानिक हो भन्ने निर्णय आयोगले नै गर्नेछ ।