गृहमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलले नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका बादलले बैठकलाई सम्बोधन गर्दै नेकपाबाट एउटा गुट अलग भएको र त्यसमा प्रतिक्रियावादीहरुले खुसी र उत्सब मनाइरहेको बताए । यसबाट जनता दुखि भएको उनले बताए ।
बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्व (केपी ओली)लाई साथ दिनुपरेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली नेतृत्वको नेकपाको बैठकलाई सम्बोधन गर्दै बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताए ।
उनले प्रचण्ड–माधव नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताए । उनले पार्टीको नेतृत्वलाई जोगाउन आफू लाग्ने र गुटहरुलाई हावी हुन नदिने बताए । असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको नेतृत्वलाई सघाउन उनले आह्वान गरे ।
पार्टीको विवादमा कतै नखुलेका र पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी नभएका बादल आजबाट ओलीको पक्षमा खुलेका हुन् । बैठकमा बादलको सम्बोधनअघि नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओलीले शपथग्रहण गराएका थिए ।