हेली एयर नेपाल प्रालिले कोरोना महामारीका कारण स्थगित आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको छ।
कम्पनीले आज (बिहीबार) बाट नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण प्रक्रिया तथा कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्डका नियमहरू पूर्णरूपमा पालना गर्दै आफ्ना सेवाहरू पुनः सञ्चालनमा ल्याएको हो ।
कम्पनीले पोखरा आसपासको आकाशमा दुईवटा जाइरोकप्टरमार्फत मनोरञ्जनात्मक दृश्यावलोकन उडान गर्दै आएको छ । कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउनपछि उडान सेवा स्थगित गरिएको थियो।
यसैबीच कम्पनीले कोरोना महामारीको कारण थलिएको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत माथि उठाउन सहयोग पु¥याउने उद्देश्यका साथ सबै प्रकारका उडानमा छुट प्रदान गर्ने भएको छ।
कम्पनीले नेपाली नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ । जसअनुसार पोखरा आसपासको छोटो उडानको लागि ६ हजार ४९९ रूपैयाँ, माछापुछ्रे हिमालसम्म (करिब ३० मिनेट) को उडानको लागि ११ हजार ४९९ रूपैयाँ र माछापुछ्रेसहित अन्नपूर्ण हिमालसम्म (करिब ६० मिनेट) को उडानको लागि २१ हजार ४९९ रूपैयाँ भाडा दर तोकिएको कम्पनीले जनाएको छ ।
फ्रान्समा निर्मित अत्याधुनिक जाइरोकप्टरबाट उडान गर्दा हाम्रा यात्रु महानुभावहरूले पाउने यस विशेष छुट कोरोना महामारी अवधिभर मात्र कायम रहनेछ,’’ कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।