
जाडो महिनामा बालबालिकाहरुलाई राम्रो हेरविचार गरिएन भने उनीहरुमा रुघाखोकी, सिजनल फ्लु, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छ । त्यसैगरी, हातखुट्टा फुट्ने र छाला खस्रो हुने समस्या बढी मात्रामा देखिन्छ । यस्ता समस्या देखिनुको मुख्य कारण भनेको संक्रमण नै हो । यस्तो संक्रमणबाट जोगाउन सकिएन भने उनीहरुमा निमोनिया भइ मृत्यु हुने खतरा समेत हुन्छ । यस्तो मौसममा बच्चाहरुलाई के कस्ता समस्या देखिन्छन् ? कसरी जोगाउने ? अंकुरण खबर मार्फत वरिष्ठ बालरोग विशेषज्ञ डा.मिनराज पाठक यस्ता सुझाव दिन्छन …
अन्य समयमा भन्दा चिसो मौषममा बालबालिकालाई बढी संक्रमण हुने गर्छ । यो बेला बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कम्जोर हुने भएकाले सानोतिनो लापरवाहीले पनि उनीहरुमा निमोनिया लगायतका समस्या हुन्छ ।
जाडोमा बालबालिकालाई यस्ता समस्या बढी देखिन्छ :
रुघाखोकी ।
ज्वारो ।
श्वासप्रश्वास सम्बन्धी समस्या ।
पेट सम्बन्धी समस्या ।
छाला सम्बन्धी समस्या ।
यसकारण चिसो मौषममा बालबालिकाको खानपान, सरसफाई, लवाई हरेक कुरा उसको शारीरिक क्षमता र वातावरण अनुकुल हुनुपर्छ । अन्यथा बच्चामा विभिन्न संक्रमण भई ज्यानै समेत जान सक्छ ।
यसरी गरौं बालबालिकाको स्याहार :
बच्चालाई न्यानो कपडा लगाइदिने । न्यायो कपडाले पसिना आउनु हुँदैन ।
सफा पानी पर्याप्त खुवाउने ।
मनतातो झोलिलो कुरा खुवाउने ।
मौसम अनुसारका खाना तथा फलफूल खुवाउने ।
पौष्टिक आहारयुक्त सन्तुलित भोजन गराउने ।
चिसो कुरा नखुवाउने ।
कपडा परिवर्तन गर्दा घाममा वा न्यायो ठाउँमा गरिदिने ।
चिसोको मौसममा पनि हप्ताको एक पटक घाममा नुहाइदिने ।
कतिपयले बालबालिकालाई न्यानो बनाउन कोठामा आगो वा हिटर बालेर झ्याल ढोका बन्द गरेर राख्ने गर्छन । यस्तो अवस्थामा हावा सहजै छिर्ने ठाउँ नहुँदा गुम्सियर बच्चामा अझ श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ । यही कारण कयौं दुर्घटना समेत भएका छन् । यसर्थ कोठा न्यायो पार्दा होस् या ओड्ने ओढदा श्वास फेर्नै गाह्रो पार्नु हुदैन् । हावा सहजै आवतजावत गर्न मिल्ने हुनुपर्छ । घरपरिवारमा कसैलाई रुघाखोकी लागेको छ भने बच्चाको छेउछाउमा जानु हँदैन । उनीहरुमा रुघा सर्ने सम्भावना बढी हुन्छ । धुँवा धुलो भएको ठाउँमा बालबालिकालाई नराख्ने । बच्चाको अगाडी धुम्रपान नगर्ने ।
Comment here