कैलालीमा दुई जना प्रहरीको हत्याका मुख्य योजनाकार भनिएका व्यक्ति पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका १० जुगेडाका ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई सूदुरपश्चिम प्रहरीले पक्राउ गरेको हो ।
उनी घटनापश्चात् भारततर्फ भागेका थिए । उनी नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतबार राति सिमाना नजिकैबाट पक्राउ गरेको हो ।
उनलाई सोमबार जिल्ला अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ । गत कात्तिक १ गते राति साढे १० बजे अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउदको सीमावर्ती क्षेत्रमा गस्ती गएका बेला हत्या भएको थियो ।
जुगेडा कटान एरियामा भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेको अवस्थामा गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले दुवै जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । उनीहरुको शव एक जनाको भोलिपल्ट र अर्काको तीनदिनपछि नदीमा फेला परेको थियो ।
घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना ,राजेन्द्र राना, चोर भन्ने सुरेश राना ,गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ ।
उनीहरुमध्ये अदलतले मंसिर ८ गते ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। राजिव गुप्ता डेढ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
यसैबीच त्यहाँ ज्यान गुमाएका दुवै प्रहरीको एक तह बढुवा गरिएको छ। बिक प्रहरी नायव निरीक्षक र साउदलाई प्रहरी हवल्दारमा पदोन्नति गरिएको छ।