logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपाल समूहको विरोध प्रदर्शन आज, काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने


अंकुरण खबर
676
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले आज मंगलबार काठमाडौं उपत्यकामा आमसभा गर्दैछ ।

आजको प्रदर्शन र आमसभामा ५० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने उक्त समूहको दाबी छ । आमसभालाई पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विषयमा आमसभाबाटै स्पष्ट पार्ने सो पक्षले जनाएको छ । ओलीले कुन नियतबाट यस्तो कदम चाले र त्यसले देशलाई कति क्षति पुर्याउन सक्छ भन्ने विषयमा पनि आमसभाबाट प्रष्ट पार्ने तयारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको आमसभामा उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरु सहभागी हुने भएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस मध्यान्ह १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने छ ।

टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ ।

जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, वेदुराम भुसाल, अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, योगेशकुमार भट्टराई, पम्फा भुसाल र मुकुन्द न्यौपानेले नेतृत्व गर्ने बताइएको छ ।

नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।

प्रधानमन्त्री ओलीले यही पुस ५ गते संसद् विघटन गरेसँगै सत्तारुढ नेकपा विभाजित भएको छ भने दाहाल नेपाल समूह सडकमा उत्रेको छ ।