ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाले जानकारी दिए ।
ज्ञवाली सुन जाँचकी मुख्य व्यक्ति हुन् । उनीलगायत बैंकका कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरिएको थियो,’ डिआइजी थापाले भने ।
ब्युरोले यस घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ । तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ परेका छन् ।
बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो । रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो ।