संघीय संसदको प्रतिनिधि सभा विघटन विरुद्ध आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले देशव्यापी प्रदर्शन शुरु गरेको छ ।
काठमाडौं उपत्यकामा शुरु भएको विरोध कार्यक्रमलाई प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शनको रुपमा समेत लिइएको छ । काठमाडौं उपत्यकामा मंगलबार ५ ठाउँबाट जुलुस निस्किएको छ ।
काठमाडौंको टेकु चोक, लैनचउर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजारबाट जुलुशहरु शुरु हुने छन् । ५ ठाउँबाट शुरु भएका जुलुस काठमाडौंको प्रदर्शनीमार्गमा पुगेर शभामा परिणत हुने छन् ।
काठमाडौंमा हुने विरोध कार्यक्रममा १० औं हजार मानिसहरु भेला हुने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका एक नेताले जानकारी दिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायत सो पार्टीका शीर्ष नेताहरुले काठमाडौंको रत्नपार्कबाट सुरु भई प्रदर्शनीमार्गमा जम्मा हुने र्यालीलाई नेतृत्व गर्ने नेकपा नेताहरुले जनाएका छन्।
प्रचण्ड–नेपाल समूहको विरोध कार्यक्रमका लागि काठमाडौंको भृकुटीमण्ड (प्रदर्शनी मार्ग)को सडकमै मञ्च बनाइएको छ । भृकुटीमण्डपमा हुने विरोध सभालाई नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने बताइएको छ ।
यस्तै, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य खिमलाल देवकोटाले पोखरामा हुने र्यालीको नेतृत्व गर्दैछन्। यसैगरी बिभिन्न जिल्लामा आयोजना गरिने सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु सम्बन्धित जिल्लामा पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा २ समूहमा विभाजित भएको छ ।
एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।